नाटकीय जितसँगै टोटनहम अन्तिम १६ मा

पूर्व संसार संवाददाता  194 पटक हेरिएको

पेरिस — युरोपेली च्याम्पियन्स लिग अन्तर्गत टोटनहमले समूह ‘डी’ विजेताका रूपमा मंगलबार अन्तिम १६ को यात्रा तय गरेको छ । उसले नाटकीय रूपमा अन्तिम समयमा मार्सेलाई २–१ ले हरायो ।

एक समय प्रतियोगिताबाट बाहिरिने डरमा रहेको टोटनहमका लागि पिएरे इमीले होजबर्गले ९५ औं मिनेटमा निर्णायक गोल गरेसँगै टिम समूह विजेता समेत बन्यो ।

मार्से भने पराजयसँगै समूहको अन्तिम स्थानमा रह्यो । दोस्रो स्थानमा रहेर छनोट हुनका लागि फ्रायन्कफर्टले स्पोर्टिङ लिस्वनलाई २–१ ले हरायो ।

समूह ‘ए’ मा लिभरपुलले नेपोलीलाई २–० ले हराए पनि दोस्रो स्थानमै रह्यो । यसअघि नै दुवै टिम अर्को चरण पुगिसके । समूहको अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ३–१ ले पन्छायो ।

यस्तै समूह ‘बी’ बाट छनोट भइसकेको दुई क्लबमध्ये एफसी पोर्टोले एटलेटिको म्याड्रिडलाई २–१ हरायो भने क्लब ब्रुग्सले बायर लेभरकुजनसँग गोलरहित बराबरी खेल्यो ।

यस्तै समूह ‘सी’ का शीर्ष दुई टिमको भिडन्तमा बायर्न म्युनिकले इन्टर मिलानलाई २–० ले पराजित गर्‍यो । दुवै यसअघि नै नकआउट चरण पुगिसके । समूहकै अर्को खेलमा बार्सिलोनाले भिक्टोरिया प्लाजेनलाई ४–२ ले निराश पार्‍यो ।

तपाईको प्रतिक्रिया