स्थानीय तहकै लापरवाहीले गोरखाका अधिकांश स्वास्थ्य संस्थामा औषधी अभाव

गोरखा । गाउँपालिकाकै लापरवाहीका कारण गोरखाका अधिकांश स्वास्थ्य संस्थामा औषधी अभाव भएको छ ।

यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत् खरिद गरेर सबै स्वास्थ्य संस्थामा पठाइने गरेको थियो । अहिले हरेक स्थानीय तहमा औषधी खरिदका लागि बजेट विनियोजन भएको छ । तर, उक्त बजेटको सदुपयोग गर्न गाउँपालिकाहरुले चासो दिएका छैनन् ।

करिब एक सातादेखि धार्चे गाउँपालिकाको गुम्दामा फैलिएको मौसमी भाइरल औषधी अभावकै कारण नियन्त्रणमा आउन सकेको छैन । बिरामीहरुलाई तातोपानी पिउन सुझाव दिँदै फर्काइने गरेको छ ।

कार्यकारी अधिकृत नहुँदा औषधी खरिद गर्न नसकिएको उक्त गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । उनले भने, ‘उधारोमा भए पनि औषधी खरिद गर्न भनिसकेको छु ।’

कार्यकारी अधिकृत नहुँदा आर्थिक नियमावली र व्यवस्थापन गर्न नसकिएकाले खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको उनले बताए ।

जिल्लाका अधिकांश स्थानीय तहले औषधी खरिदका लागि निकासा भएको बजेट खर्च गर्न सकेका छैनन् । ‘कोटेसन’बाटै पाँच लाखसम्मको औषधी खरिद गर्न सकिन्छ, फेरि बोलपत्र आव्हान गरेर २० लाखसम्मको खरिद गर्न मिल्ने प्रावधान छ । ‘तर, औषधी खरिदमा स्थानीय तहले किन ढिलाइ गरिरहेका छन्, थाहा छैन,’ जिल्ला जनस्वास्थ्यका एक कर्मचारी भन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार