प्राइमको ३६ प्रतिशतले नाफा बढ्दा मेगाको ४५ प्रतिशत घट्यो

काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमासमा प्राइम बैंकको नाफा करिब ३६ प्रतिशतले वृद्धि भएको छ । बैंकको नाफा ३४ करोड १७ लाख पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमासमा २५ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा ६९ प्रतिशतले बढेर ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी १८ प्रतिशतले बढेको छ । यो रकम ४५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले फि, कमिसन, अन्य आम्दानी र विदेशी मुद्राको विनिमयबाट करिब ३० करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा करिब १ सय ८ प्रतिशतको वृद्धि हो ।

बैंकको निक्षेप ३१ प्रतिशतले बढेर ६८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ३९ प्रतिशतले वृद्धि भएर ५९ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८६ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७५ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ४५ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २६ अर्ब ५२ करोड रुपैयाँको लगानी भएको छ ।

बैंकले १० करोड राइट ब्याक गरेको छ । बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १५ करोड ६० लाख रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात १.३७ प्रतिशत रहको छ भने करिब १२८ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल १७ प्रतिशतबाट घटेर १४ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब दोब्बरले बढेर ६ अर्ब ३२ करोड पुगेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको सञ्चिती ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २१.६१ रुपैयाँ , मूल्य आम्दानी अनुपात २०.५५ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ रहेको छ ।

मेगा बैंक

मेगा बैंकको नाफा करिब ४४ प्रतिशतले घटेको छ । बैंकको व्याज आम्दानी, अन्य आम्दानी घटेको छ भने सञ्चालन खर्च बढेको छ ।
बैंकको नाफा ८ करोड ११ लाख रुपैयाँमा सिमति भएको हो । गत आवको बैंकले पहिलो त्रैमाशमा १४ करोड ६९ लाख करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि ६० प्रतिशतले घटेर ६ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी ६ प्रतिशतले घटेको छ । यो रकम ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले फि, कमिसन, अन्य आम्दानी र विदेशी मुद्राको विनिमयबाट करिब ९ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा करिब ५ प्रतिशतले घटेको हो ।

बैंकको निक्षेप ७ प्रतिशतले बढेर ३९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १० प्रतिशतले वृद्धि भएर ३५ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८९.४७ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७८.२६ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । बैंकसँग लगानीको लागि थप पूँजी रहेको देखिन्छ ।

बैंकको कुल कर्जा लगानीमा करिब ६० प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २१ अर्ब २ करोड रुपैयाँको लगानी भएको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १६ करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात १.६७ प्रतिशत रहको छ भने करिब १ सय १९ प्रतिशत जोखिम व्यवस्था गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल १३ प्रतिशतबाट बढेर ५ प्रतिशत भएको छ । करिब १ अर्ब २९ करोडले पूँजी बढेपछि सेयर प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रहेको छ भने सञ्चितीमा १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी बार्षिकिकरण गर्दा ६.७७ रुपैयाँ र त्रैमासिकको आधारमा १ रुपैयाँ ७७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ६६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २९ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार