पश्चिममा कमजोर हुँदैछ चीनविरोधी प्रोपोगान्डा

  बुद्धिप्रसाद शर्मा  55 पटक हेरिएको

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन अगाडिका महाधिवेशनहरु भन्दा धेरै अर्थमा भिन्न महसुस सर्वत्र गरियो । यसको मुख्य कारण महाधिवेशनमार्फतको नेतृत्व चयनभन्दा पनि यसले उठाएका कार्यक्रम र घरेलु एवं वाह्य सन्दर्भमा प्रस्तुत दृष्टिकोण प्रमुख थियो ।

चीनको राजनीतिलाई नजिकबाट केलाउँदै आएकाहरुलाई यतिखेरको नेतृत्व चयनको सन्दर्भ नौलो थिएन । सी जिनफिङको दरिलो राजनीतिक उपस्थितिबारे धेरै जानकार थिए । अचम्म त के भयो भने यस अगाडिका महाधिवेशनवारे तीव्र आलोचनामा नाङ्गोरुपमा प्रस्तुत हुने पश्चिमा सञ्चारमाध्यमहरु यो पटक तुलानात्मकरुपले निकै उदारजस्तो बनेको देखियो । यो गजवको अवस्थालाई नजिकवाट विश्लेषण गरिरहेका प्राध्यापक केरी ब्राऊनले ‘बलियो चीनलाई स्वीकार गर्दै गएको अवस्था’ भनिदिए ।

अबको चीन घरेलु आर्थिक मुद्दामा मात्रै भन्दा पनि अन्तरराष्ट्रिय विविध चासोमा दरिलोरुपमा प्रस्तुत हुन थालेको प्राध्यापक ब्राऊनको निचोड थियो ।

भनिन्छ, चीनका बारेमा पश्चिमा विज्ञहरु एवं मिडियाले गर्ने भविष्यवाणी अत्यधिक गलत सावित हुने गर्दछ । बैचारिक राजनीतिक एवं आर्थिक मोडलमा पश्चिमा मुलुकहरुको भन्दा भिन्न स्वरुप अंगाल्दै आएको चीनले आफूले अनुसरण गर्दै आएको संरचना चिनियाँ विशेषतासहितको चीनको वास्तविकतासँग पूर्ण मेल खादैं आएको बताउँदै आएको छ । अरुका राजनीतिक एवं आर्थिक मोडलहरुको हुवहु अनुशरण पनि नगर्ने र आफ्ना मोडलहरु प्नि विश्वमा जर्वजस्त लाद्ने काममा आफू संलग्न नहुने चीनले पहिल्यैबाट बताउँदै आएको हो ।

चर्चित म्यागेजिन दि ईकोनोमिस्ट, टाइम्स, दि न्युर्योक टाइम्स लगायतले सोभियत संघको पतनसँगै चीनविरुद्ध अनेक विषवमन गर्दै आए । विडम्वना नै भन्नुपर्छ, उनीहरुले गर्दै आएका कुनै पनि भविष्यवाणी सही भएनन् ।

सन् १९८९ यता ती अखबारहरुले गरेका भविष्यवाणीमा चीनको राजनीतिक संरचना कुनै पनि समय भत्किन सक्ने, आर्थिक स्वरुप पूर्ण पुँजीवादी संरचनाको नभएकाले लामो समय नटिक्ने र सामाजिक द्वन्द्व निम्तिने लगायतका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको सन् १९९२ अक्टोबरमा सम्पन्न चौधौं महाधिवेशनताका दि इकोनोमिष्टले गरेको भविष्यवाणी रोचक थियो ।

उक्त अखबारको ठोकुवा थियो कि समाजवादी अर्थव्यवस्था अँगालेको चीनको अर्थतन्त्र आन्तरिकरुपमा डामाडोल भइसकेको र अब यो पछाडि हिँड्न सुरु गरेको छ । यसका आधारमा कतिपय अमेरिकी लेखकले फ्रान्सिस फुकियामाको थेसिससँग जोड्दै ‘अब जहाज पल्टने पालो चीनको’सम्म भन्न भ्याएका थिए । तर, उनीहरुको ठम्याई विपरीत सीपीसीको सन् १९९७ मा सम्पन्न पन्ध्रौं महाधिवेशसम्म चीनको आर्थिक वृद्धिदर एवं सामाजिक परिसूचकहरु पहिलेका वर्षहरुमा भन्दा पनि निकै माथि पुगिसकेको थियो ।

सन् १९९२ मा देङ्ग सियाओपिङ्गको चर्चित दक्षिणी प्रान्तहरुको भ्रमण चिनियाँ आर्थिक विकासमा अर्को महान फड्को भन्ने गरिन्छ । पश्चिमा विज्ञ एवं मिडियाको अड्कलबाजी विपरीत सन् १९९७, २००२, २००७ र २०१२ मा सम्पन्न सीपीसीका महाधिवेशनहरुले प्रस्तुत गरेका कार्यक्रमहरु चिनियाँ सरकारले समयमै कार्यान्वयन गर्‍याे उच्च उत्पादकत्व एवं प्राप्तिसहित ।

नेता देङ्गले पटक–पटक उच्चारण गरेको “सीयाओकोङ्ग” अर्थात आर्थिकरुपमा समृद्ध र मूल्य मान्यतामा आधारित समाजको निर्माणमा चिनियाँ नेतृत्व रत्तिभर खुट्टा नकमाई अगाडि बढेको छ ।

हालै सम्पन्न सीपीसीको १९ औं महाधिवेशनमा सी जिनफिङ्गद्वारा प्रस्तुत राजनीतिक प्रतिवदेन त्यही “सीयाओकोङ्ग”को लक्ष्य हासिल गरी सन् ०४९ सम्म एक समृद्ध, आधुनिक, सांस्कृतिकरुपमा सम्पन्न र समाजवादी मुलुक बन्ने लक्ष्यमा केन्द्रित छ, जुन चिनियाँ सपना पूरा गर्ने दुई शताब्दी लक्ष्यको पूर्ण कार्यान्वयनसँग सम्वन्धित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार