एकवर्ष पश्चात फेसबुक संस्थापक मार्क जुकरबर्ग पुनः चीन भ्रमणमा पुगेका छन् । जुकरबर्गले बेइजिङको सिंघुआ स्कुल अफ इकोनोमिक्स एण्ड म्यानेजमेन्टका विद्यार्थीहरुसँग भेटघाट गरेको तस्वीर फेसबुकमा पोष्ट गरेका छन् ।
विश्वकै सबैभन्दा ठूलो इन्टरनेट बजार चीनमा प्रवेश गर्ने सम्भावित अवसरको खोजी गर्दै जुकरबर्ग चीन भ्रमणमा गएको बताइएको छ । हाल चीनमा प्रतिबन्धित रहेको फेसबुकले सन् २०१८ देखि चीनमा फुकुवा हुने अवसरको खोजी गरिरहेको विश्लेषकहरुले बताएका छन् ।
सन् २००९ देखि चीनमा फेसबुक प्रतिबन्धित छ । फेसबुकले केही समयअघिमात्र लिंक्डइनबाट भित्राइएका विलियम सुआइलाई चिनिया सरकारसँग सम्बन्ध अघि बढाउने महत्वपूर्ण जिममेवारी दिएको छ ।
फेसबुकले हाल चीनमा आफ्नो फोटो शेयरिङ एपको परीक्षण गरिरहेको छ भने आफ्नो कन्जुमर हार्डवेयर डिभिजन बिल्डिङ एटका लागि शांघाइमा एक कार्यालयको खोजी गरिरहेको छ ।
आफ्नो फेसबुक पोष्टमा जुकरबर्गले सिंघुआ स्कुलको सल्लाहाकार बोर्डको बैठकमा भाग लिन आफू चीनमा रहेको बताएका छन् । ‘चीनको आविष्कार तथा उद्यमशीलतासँग साक्षात्कार गर्नका लागि हरेक वर्ष यो भ्रमण निकै महत्वपूर्ण अवसर बन्ने गर्दछ’, जुकरबर्गले भनेका छन् ।
फेसबुकले चीनमा प्रवेश गर्नका लागि वर्षौँयता विभिन्न खाले प्रयासहरु गर्दै आएको छ । लगानीकर्ताहरुका लागि कम्पनीको दह्रिलो वृद्धिदर प्रदर्शन गरिराख्ने दबाबमा रहेको फेसबुकका लागि चिनिया बजारमा प्रवेश गर्नु भनेको प्रयोगकर्ता तथा विज्ञापनदाताको विशाल बजारमा पहुँच स्थापित गर्नु हो । यसै प्रयासका लागि हुनसक्छ जुकरबर्ग चिनिया मन्दारिन भाषा सिकेर राम्रोसँग चिनिया बोल्नसक्ने भएका छन् ।
गतवर्षको आफ्नो चीन भ्रमणका बेला जुकरबर्गले चीनका प्रोपोगान्डा एजेन्सीका प्रमुख तथा अन्य नेताहरुसाग भेट गरेका थिए । यसपटकको भेटमा उनले सरकारी अधिकारीहरुसँग भेट गर्ने वा नगर्ने चाहीँ खुलेको छैन ।
चीन ठूलो र आकर्षक बजार रहेतापनि फेसबुकका लागि चीनमा प्रवेश सजिलो छैन । चीनले अनलाइन सेन्सरसीपको उल्लंघन गरेको भन्दै हालै फेसबुक मातहतको ह्वाट्सएपलाई समेत प्रतिबन्ध लगाएको छ ।