काठमाडौं । एमालेलाई परास्त गर्नका लागि माओवादीको साथ लिनुपर्छ भनेर कांग्रेसभित्र निरन्तर आवाज उठाउने नेता हुन्- डा. नारायण खड्का । भलै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका खड्का सुशील कोइरालाको निधनपछि पार्टीभित्र ‘लो प्रोफाइल’ मा छन् ।
रामचन्द्र पौडेलको गुटमै पनि ६०/४० को भागबण्डाको बिरोध गर्दा खड्का विश्वसनीय बन्न सकेका छैनन् । त्यसैले उनी सांसदको टिकट बाँड्ने संसदीय बोर्डमा पर्न सकेनन् ।
उनले हालै कांगे्रसको एउटा बैठकमा माओवादीलाई एमालेले ४० प्रतिशत दिएर लैजाँदैछ भन्ने कुरा किन आँकलन गरिएन भन्दै नेतृत्वमाथि प्रश्न उठाए । कांग्रेस नेतृत्वको कमजोरीले गर्दा नै माओवादी एमालेतिर गएको खड्काको दाबी छ । तर, चुनावपछि कांग्रेसकै समर्थनमा प्रचण्ड फेरि प्रधानमन्त्री बन्ने उनको अर्को दावी छ ।
प्रस्तुत छ, कांग्रेस नेता खड्कासँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको समसामयिक कुराकानीः
स्थानीय चुनावअघि तपाईले यही ठाउँमा मसँग कुरा गर्दा एमालेलाई रोक्न कांग्रेसले माओवादीसँग तालमेल गर्नुपर्छ भन्नुभएको थियो, त्यही लाइनअनुसार स्थानीय चुनावमा तालमेल पनि भयो, तर न एमालेलाई पहिलो हुनबाट रोक्न सक्नुभयो, न त माओवादीलाई नै आफूसँग राख्न सक्नुभयो । किन यस्तो भएको होला ?
हो मैले भनेकै हो, एमालेलाई रोक्न कांग्रेसले माओवादीलाई साथमा लिनुपर्छ । हामीले भरतपुर र पोखरा महानगरपालिका, हेटौंडा र बुटवल उपमहानगरसहित धेरै ठाउँमा माओवादीसँँग चुनावी तालमेल गरेकै हो । त्यसको फाइदा बेफाइदा के भयो भन्ने आफ्नै ठाउँमा होला । तर, एमालेले २ नम्बरको चुनावपछि खेल खेल्यो ।