मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

पूर्व संसार  70 पटक हेरिएको

धनुषा, ११ मङ्सिर: मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ।    
    
 प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ ।    
    
 एक कार्यकाल मुख्यमन्त्रीका रुपमा सरकार सञ्चालन गरी सक्नुभएको लालबाबु राउत फेरि दोहोरिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेतासमेत रहनुभएको उहाँ पर्सा क्षेत्र नं १ (२) बाट निर्वाचित हुनु भएको छ ।    
    
 कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसक्नु भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि बारा क्षेत्र नं ४ (२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री भइसक्नुभएको छ ।    
    
 त्यस्तै पर्सा क्षेत्र नं २ (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित हुनु भएको छ । उहाँ २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित हुनु भएको थियो । पर्साकै क्षेत्र नं ४ (१) बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । दोस्रो पटक निर्वाचित हुनुहुनेमा रौतहट–४ (२) बाट जसपाका शेष अबुल कलाम आजाद पनि पर्नुहुन्छ ।    
    
 यसैगरी सर्लाहीबाट चार जना प्रदेश सांसद दोस्रो पटक निर्वाचित हुनु भएको छ । सर्लाही क्षेत्र नं १ (१) बाट लोसपाका उपेन्द्र महतो र (२) बाट वेंची लुङेली, क्षेत्र नं ३ (२) बाट जसपाका सञ्जयकुमार यादव तथा क्षेत्र नं ४ (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भई सिट सुरक्षित गर्नुभएको छ । कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत भइसक्नु भएको छ ।    
    
 त्यस्तै महोत्तरी क्षेत्र नं ३ (१) मा लोसपाबाट उम्मेदवार बन्नुभएका अभिराम शर्मा र ३ (२) बाट रानी शर्मा पुनःनिर्वाचित हुनु भएको छ । अभिराम शर्माले सामाजिक विकास राज्यमन्त्री को समेत जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँले मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनु भएको जसपाका दीपेन्द्र झालाई झिनो मतले पराजित गर्नुभएको हो । धनुषा क्षेत्र नं २ (२) मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ। सप्तरी क्षेत्र नं ३ (१) मा कांग्रेसका मोहम्मद समिम पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ ।    

तपाईको प्रतिक्रिया