अपाङ्गता भएका बालबालिकालाई ‘सुप समावेशी’

पूर्व संसार  44 पटक हेरिएको

राजकुमार साउद, हजपुर, ३० कात्तिक : कैलालीमा मात्रै नभइ सुदूरपश्चिम प्रदेशमै २०६७ अघिसम्म अपाङ्गता भएका बालबालिकाले राम्रोसँग पढ्न पाएका थिएनन् । भएका विद्यालयमा अपाङ्गतमैत्री संरचना नहुँदा अपाङ्गत भएका बालबालिकाले आवश्यकतानुसारको शिक्षाबाट बञ्चित हुनुपरेको थियो ।

अपाङ्गत भएका बालबालिकाको उचित शैक्षिक आवश्यकतालाई महसुस गरेर प्रदेशमै पहिलोपटक ‘सुप’ समावेशी आधारभूत विद्यालयको स्थापना भयो । कैलालीको गोदावरी नगरपालिका–२ मा स्थापित उक्त विद्यालयले अपाङ्गत भएका बालबालिकालाई आवाससहित शिक्षाको सुविधा प्रदान गर्न थालेपछि अहिले अपाङ्गत भएका बालबालिकालाई राहत महसुस भएको छ । कैलालीकै बौनियाबाट उक्त विद्यालयमा पढ्न आएकी छात्रा चित्रकला विकले अन्य विद्यालयको तुलनामा सुप समावेशीमा पढाइ सहज भएको बताउनुभयो ।

“बौनियामा कक्षा २ सम्म पढेँ, त्यसपछि यहाँ आएकी हुँ”, उहाँले भन्नुभयो, “त्यहाँको र यहाँको शैक्षिक वातावरण विलकुलै फरक छ, साथीहरूको व्यवहार पनि फरक छ, शैक्षिक गतिविधि पनि फरक छ ।” उहाँले सुप समावेशीमा अपाङ्गत भएका बालबालिका नै रहेकाले कसैलाई पनि आफू कमजोर भएको महसुस नहुने बताउनुभयो । कक्षा ७ मा पढ्दै गरेकी उहाँले सुप समावेशीलाई उच्च शिक्षासम्मको अनुमति पाए अझै राहत हुने बताउनुभयो ।

“कक्षा ७ मा पढ्दै छु, यो वर्ष अन्तिम हो, त्यसपछि फेरि बाहिर जानुपर्छ”, उहाँले भन्नुभयो, “बाहिरको वातावरण प्रायःजसो अपाङ्गत भएका व्यक्तिका लागि उपयुक्त हँुदैन, त्यस्तो अवस्था शिक्षा आर्जन गर्न पनि गाह्रो हुन्छ ।” उहाँले सुप समावेशीलाई नै उच्च तहसम्म अनुमति दिई सरकारले शिक्षकलाई अध्यापनका लागि पठाए आफूजस्ता अपाङ्गत भएका बालबालिकाले सहजरूपमा आवाससहितको शिक्षा पाउने बताउनुभयो । उहाँले अन्य विद्यालयमा अपाङ्गत भएका बालबालिकाका लागि अपाङ्गता संरचना नहुने भएकाले समस्या हुने गरेको बताउनुभयो । कैलालीकै टीकापुरबाट सो विद्यालयमा अध्यापन गर्न आएका गौतम विकले विद्यालयमा पारिवारिक वातावरण पाएको बताउनुभयो ।

“अपाङ्गता भएका साथी छन्, परिवारको जस्तो वातावरण छ”, उहाँले भन्नुभयो, “शिक्षक–शिक्षिकाले पनि राम्रो व्यवहार गर्नुहुन्छ, यहाँ हामीजस्ता बालबालिकालाई शिक्षाआर्जन गर्न सहज भएको छ ।” कक्षा ७ मा पढिरहेका उहाँले पनि सुप समावेशीको स्तरोन्नतिको माग गर्नुभयो । “हामी यो वर्ष अन्तिम हो यहाँ पढ्ने, त्यसपछि अन्य विद्यालयमा जानुपर्छ’ उहाँले भन्नुभयो, “अन्य विद्यालयमा आफू अनुकूलको वातावरण भए पढ्न सकिन्छ, नभए पढाइ छोड्नुपर्ने बाध्यता आउँछ ।” उहाँले सुप समावेशीलाई उच्च तहसम्मको अध्यापन गर्ने अनुमति दिए आफूजस्ता बालबालिकालाई पढाइमा सहज हुने बताउनुभयो ।

“यहाँ हामीजस्ता बालबालिकालाई एकदमै राम्रो शैक्षिक वातावरण छ, हामीले यहाँबाट अपाङ्गत भएका बालबालिकाले पनि जीवनमा केही गर्न सक्छन् भन्ने कुरा सिकेका छाँै”, उहाँले भन्नुभयो, “धेरै अपाङ्गता भएका व्यक्तिको जीवनीबाट हामीलाई प्रेरणा दिने काम सर–म्याडमहरूले गर्नुहुन्छ, बीच–बीचमा हाम्रो स्वास्थ्य अवस्थाका बारेमा पनि जाँच भइरहेको हुन्छ ।”

विद्यालयमा आउनुअघि हिँडडुलसमेत गर्न नसक्ने उहाँ अहिले भने हिँड्नुहुन्छ, अलि–अलि दौडिनु पनि हुन्छ । विद्यालयले समय–समयमा बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिने, फिजियोथेरापी गर्नेलगायतका काम गर्दै आएको छ । जसले गर्दा बालबालिकामा शारीरिक र मानसिक दुवै किसिमबाट सुधार भइरहेको विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउदले बताउनुभयो । विसं २०६७ मा यहाँ अपाङ्गता भएका बालबालिकाको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै विद्यालयको स्थापना गरिएको उहाँले बताउनुभयो । “विद्यालयको पहुँचभन्दा बाहिर रहेका शारीरिकरूपमा अपाङ्गता भएका बालबालिकालाई शिक्षाको दायरामा ल्याउन विद्यालयको स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “त्यतिबेला बालबालिका विद्यालय आउन नमान्ने र अभिभावकले पनि छोरीछोरी पठाउन नमान्ने अवस्था थियो, अहिले त्यस्तो अवस्था छैन ।”

उहाँले १० विद्यार्थीबाट सुरु गरिएको विद्यालयमा अहिले ७२ अपाङ्गता भएका बालबालिका अध्ययन गरिरहेको बताउनुभयो । विद्यालयमा आएसँगै बालबालिकामा अपाङ्गता भएका व्यक्तिले केही पनि गर्न सक्दैनन् भन्ने मानसिकता हटेको बताउनुहँुदै उहाँले पढेपछि जीवनमा केही गर्न सकिन्छ भन्ने सकारात्मक परिपक्वकता बालबालिकामा मौलाएको बताउनुभयो । उहाँले विगतभन्दा अहिले अभिभावकको मानसिकतामा पनि परिवर्तन आएको बताउनुभयो ।

एक जनामात्रै सरकारी दरबन्दीमा शिक्षक रहे पनि अन्य सबै लगाएर अहिले १२ कर्मचारीले विद्यालयमा काम गरिरहेका छन् । दुर्गालक्ष्मी सामुदायिक वनसँग जमिन मागेर विद्यार्थीलाई अध्यापन गराउनका लागि कच्ची संरचनाबाट सुरु गरिएको उक्त विद्यालयका पाँचवटा पक्की भवन निर्माण भइसकेका छन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा भौतिक संरचनाको भने अभाव हुन थालेको उहाँले बताउनुभयो ।

उहाँले विद्यार्थीलाई आवासीय व्यवस्थापन र पढ्ने कक्षाकोठाको पनि व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालयसँग रहेका भौतिक संरचना अपर्याप्त भएको बताउनुभयो । विद्यालयमा बालबालिकालाई न्युट्रेसन सर्पाेटका लागि एउटा गाई पालिएको छ । गाई पाल्दा बालबालिकालाई न्युट्रेशन सर्पाेट मिल्नुका साथै कृषि कार्यप्रति उनीहरूको सिकाइ पनि बढ्ने साउदले बताउनुभयो । उहाँले त्यसैका लागि विद्यालयमा तरकारी खेती र कुखुरापालन पनि गरिएको बताउनुभयो । उहाँले विगतको तुलनामा विद्यालयको व्यवस्थापनमा सहजता आएको र आगामी दिनमा विद्यालयलाई नमूनाका रूपमा अगाडि बढाउने प्रयास गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया