सर्वाधिक रनकर्ता कोहली   

पूर्व संसार संवाददाता  203 पटक हेरिएको

काठमाडौँ — विराट कोहली ट्वान्टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । उनकै प्रदर्शनमा बुधबार भारतले वर्षाले प्रभावित खेलमा बंगलादेशलाई ५ रनले पराजित गरेको छ । रोमाञ्चक खेलको निर्णय अन्तिम बलमा पुगेयता मात्र भएको थियो ।

जितपछि भारत ग्रुप–२ को शीर्षस्थानमा उक्लेको छ । भारतले आइतबार हुने आफ्नो अन्तिम खेलमा जिम्बावेलाई हराउने हो भने सेमिफाइनलमा स्थान निश्चित हुनेछ ।

जितका लागि १६ ओभरमा १ सय ५१ रनको नयाँ लक्ष्यअगाडि बंगलादेश लड्खडाएको थियो । कोहलीको ६४ रन मदतमा भारतले ६ विकेटमा १ सय ८४ रन बनाएयता बंगलादेश एक समय जिततर्फ अग्रसर देखिएको थियो । त्यतिबेला उसले विना कुनै विकेटको क्षति ६६ रन बनाएको थियो । त्यही स्थितिमा पानी परेपछि ४ ओभरले खेल छोट्याइएको थियो । बंगलादेशी ओपनर लिटन दासले २७ बलमा ६० रन बनाए, तर उनी वर्षापछि सुरु भएको खेलमा लगत्तै रनआउट भए । खेल वर्षाले ५० मिनेट रोकिएको थियो ।

‘हाम्रा लागि दिन शुभ रह्यो,’ लामो समयपछि फेरि आफ्नो उत्कृष्ट लयमा फर्केका कोहलीले भने, ‘म अहिले खुसी मनसायमा छु र यस्तै राम्रो इनिङ्समा रमाउन चाहन्छु । अहिले म कुनै प्रकारको तुलना गर्न चाहन्न । पुराना दिनमा जे भयो, भयो ।’ बंगलादेशलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । त्यसमा नुरुल हुसनले एक छक्का र एक चौका प्रहार गरेर केही आस जगाएका थिए ।

तर बायँहाते तीव्र गतिका बलर अर्शदीप सिंहले संयमित रहेर अन्तिम ओभर बलिङ गरी भारतलाई तनावपूर्ण जित दिलाए । लिग चरणमा भारतको ४ खेलमा यो तेस्रो जित हो । हारले बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

खेलपछि बंगलादेशी कप्तान सकिब अल हसनले भने, ‘फेरि एकपल्ट भारतविरुद्ध त्यही कथा दोहोरियो । हामी आफ्नो गन्तव्यसम्म त लगभग पुग्यौं, तर त्यसलाई नाघ्न भने सकेनौं ।’

उनले थपे, ‘खेल आफैंमा रोमाञ्चक रह्यो, दर्शक र दुवै टिमले पनि मज्जा लिए । अन्त्यमा कसैलाई न कसैलाई जित्नु थियो अनि कसैलाई न कसैलाई हार्नु थियो ।’ बंगलादेशलाई दासले आक्रामक सुरुआत दिए । उनले २१ बलमा आफ्नो अर्धशतक पूरा गरे । तर केएल राहुलको सिधा थ्रोमा आउट भए । अर्शदीपले आफ्नो एक ओभरमा सकिब अल हसनको सँगै दुई विकेट लिए । यस्तै हार्दिक पान्ड्येले पनि १३ औं ओभरमा दुई विकेट लिए ।

पूर्वकप्तान कोहलीले श्रीलंकाका माहेला जयवर्द्धनेको १ हजार १६ रनलाई उछिनेका छन् । कोहलीले यो सफलता २३ इनिङ्समै निकालेका छन् । श्रीलंकन पूर्वकप्तान जयद्धवर्द्धनेले त्यसका लागि ३१ इनिङ्स खेल्नुपरेको थियो । सन् २०१० मा ट्वान्टी–२० मा डेब्यु गरेका कोहलीले भारतका लागि ११३ औं ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

जिम्बावे सम्भावना गणितीयमात्र

नेदरल्यान्ड्सले सुपर–१२ को ग्रुप–२ को बुधबारै अर्को खेलमा जिम्बावेमाथि ५ विकेटको जित रचेको थियो । हारले जिम्बावेको सेमिफाइनल सम्भावना लगभग समाप्त भएको छ । जिम्बावेको सम्भावना अब गणितीय मात्र हो । जिम्बावे ४ खेलबाट ३ अंकमै सीमित रह्यो । सुपर–१२ मा नेदरल्यान्ड्स पहिलो जित हो । चौथो खेलमा आएर टोलीले २ अंक बटुलेको छ । जितका बावजुत नेदरल्यान्ड्स अझै अंकतालिकाको पुछारमा छ । टोलीको सेमिफाइनल सम्भावना सकिइसकेको छ ।

जितका लागि १ सय १८ रन पछ्याएको नेदरल्यान्ड्सले ५ विकेट गुमाएर १८ ओभरमा १ सय २० रन बनायो । प्रारम्भिक ब्याटर म्याक्स ओ’डोडले ४७ बलमा ५२ रन बनाएर जितको आधार तयार पारे । उनले ८ चौका र १ छक्का प्रहार गरे । उनी प्लयेर अफ द म्याच पनि भए । टम कुपरले ३२ रन बनाए ।

टस जितेको जिम्बावेले पर्याप्त स्कोर खडा गर्न सकेन । टोलीले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रनमात्र बनाउन सक्यो । त्यसमा सिकन्दर राजा एक्लैको ४० रनको योगदान रह्यो । उनले २४ बलको सामना गरेर ३ चौका र ३ छक्का प्रहार गरे । त्यसबाहेक अरू कोही पनि ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । डच बलरमध्ये पाउल भान मिकरेनले ३ विकेट लिए । जितपछि ओ’डोडले समग्रमा अहिलेसम्मको प्रदर्शन खराब रहेको बताए ।

तपाईको प्रतिक्रिया