
काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबीको क्लब २००० को पहिलो सदस्य बन्न सफल भएको छ । सन् २०१७ मा दुई हजारभन्दा बढी संख्यामा जेसीबीका निर्माण उपकरणहरुको विक्री गरेर एमएडब्लु अर्थमुभर्स यो क्लबकै पहिलो सदस्य बन्न सफल भएको हो ।
दक्षिण एसिया मुख्य बजार रहेको जेसीबी इन्डियाको ६० भन्दा बढी डिलरमध्ये नेपाली डिलर एमएडब्लु अर्थमुभर्स ‘बेस्ट डिलर’ बन्न सफल भएको हो ।
जेसीबी इन्डियाले मंगलबार एक कार्यक्रमको आयोजना गरी एमएडब्लुलाई यो सफलताका लागि सम्मान गरेको छ । कार्यक्रममा जेसीबी इन्डियाका सीइओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरे ।
एमएडब्लुले पछिल्ला १२ महिनामा कुल दुई हजार एक सय ४० वटा विभिन्न मोडेलका जेसीबी मेसिनहरु विक्री गरेको थियो । योसँगै एमएडब्लु अर्थमुभर्स जेसीबी ग्लोबलको दोस्रो सर्वाधिक मेसिन विक्री गर्ने डिलरसमेत बन्न सफल भएको छ ।
एमएडब्लु अर्थमुभर्सबाहेक विश्वको अर्को एउटा डिलरले मात्र दुई हजारभन्दा बढी जेसीबी मेसिन विक्री गर्न सकेको थियो ।
एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याकहो लोडर, एस्काभेटर र ह्विललोडर विक्री गर्न सफल डिलरसमेत बनेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो ।
जेसीबी इन्डिया बेलायतमा मुख्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो । सन् १९४५ मा स्थापना भएको जेसीबी लिमिटेडका संस्थापक जोसेफल सिराइल बम्फार्डले सन् १९५३ मा ब्याकहो लोडरको आविष्कार गरेका थिए । उनकै नामबाट कम्पनीको नाम जेसीबी राखिएको हो ।
बेलायत, जर्मनी, अमेरिका, अस्ट्रेलिया र भारत लगायतका देशमा रहेका रहेका २२ वटा प्लान्टबाट जेसीबीले तीनसयभन्दा बढी प्रकारका निर्माण र हेभि उपकरणको उत्पादन गर्दै आएको छ । विश्वको तेस्रो ठूलो निर्माण उपकरण निर्माता जेसीबीका मेसिनहरु संसारको एकसय ५० वटा मुलुकमा प्रयोग गरिन्छन् ।
जेसीबीले आफूलाई चाहिने इन्जिन, एक्सल, च्यासिस, क्याबिन, हाइड्रोलिक र ट्रान्समिसन आफैंले उत्पादन गर्दै आएका छ भने ‘रिसर्च एन्ड डेभलपमेन्ट’को क्षेत्रमा वाषिर्क लाखौं डलर खर्च गर्दै आएको छ ।