चुनावअघि जग्गा वितरण र नापजाँचका काम रोक्न आयोगको निर्देशन

पूर्व संसार संवाददाता  52 पटक हेरिएको

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा जग्गा वितरण र त्यससम्बन्धी सम्पूर्ण काम तत्कालका लागि रोक्न निर्देशन दिएको छ । आयोगले राष्ट्रिय भूमि आयोगलाई पत्राचार गर्दै जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जग्गा वितरणका लागि नापजाँच भइरहेको भन्ने सूचना प्राप्त भएपछि आयोगले सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेर तत्काल रोक्न निर्देशन गरेको हो ।

जिल्ला निर्वाचन कार्यलयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ ।

‘आयोगबाट यसपूर्व नै प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गर्न भूमि आयोग, ताहाचल, काठमाडौलाई निर्देशन दिइसकिएको हो,’ आयोगले नगरपालिकालाई गरेको पत्रमा भनिएको छ ।

आयोगले सो नगरपालिकाले आफू र आफ्नो मातहतबाट भइरहेका जग्गा नापजाँच लगायतका कार्यहरु तत्काल स्थगित गरी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म उक्त कार्यहरु नगर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्देशन दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया