विश्वकपलाई जापानी टिम घोषणा

पूर्व संसार संवाददाता  173 पटक हेरिएको

टोकियो — जापानी फुटबल टिमका व्यवस्थापक हाजिमे मोरियसुले कतारमा हुने विश्वकपका लागि मंगलबार टिम घोषणा गर्दै आफ्नो टिम ‘फुटबलको सबैभन्दा ठूलो पीडाको बदला लिने भावना’ मा नरहेको बताएका छन् ।

उनले बार्सिलोना युवा टिमका पूर्वस्टार ताकेफुसा कुबो र ब्राइटनका काओरो मितोमालाई समेट्दै जापानले विश्वकपका लागि २६ खेलाडीको टिम घोषणा गरेको हो । समूह ‘ई’ मा रहेको जापानले जर्मनी, स्पेन र कोस्टारिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जापानले पछिल्ला ६ वटै विश्वकप खेलेको छ तर पहिलोपल्ट सन् १९९४ (अमेरिका) को संस्करणमा खेल्ने उसको प्रयासलाई दोहामा भएको छनोटको अन्तिम खेलको अन्तिम मिनेटमा इराकले गोल गरेपछि असफल पारिदिएको थियो । उक्त खेललाई जापानले ‘दोहा त्रासदी’ को रूपमा लिने गर्छ । उक्त खेल खेलेका मोरियसु भने ‘यो महिना त्यो भूत’ बिर्साउन तयार रहेको बताउँछन् ।

‘दोहा यस्तो ठाउँ हो, जहाँ हाम्रो विश्वकप सपना असफल भएको सत्य हो र यो स्थानले निरास बनाउँछ । मेरा लागि दुखद हो । तर, मैले बदला लिने सोचिरहेको छैन,’ टोकियोमा आफ्नो टिम घोषणा गरेपछि मोरियसुले भने, ‘हामीसँग उत्कृष्ट खेलाडीको समूह छ । समर्थकहरू छन् र यसलाई कतारमा हुने विश्वकपमा अगाडि बढाउने हेरिरहेको छु ।’ उनले थपे, ‘मेरो अनुभव दुखद छ तर म समयलाई उपयोग गर्दै दोहा त्रासदीलाई ‘दोहा हर्ष’मा परिणत गर्न चाहन्छु ।’ साउथह्याम्पटनका पूर्वडिफेन्डर माया योसिदाको विश्वकपमा जापानी टिमको कप्तानी गर्नेछन् । उनीसँगै लेफ्ट–ब्याक युतो नागातोमो र गोलकिपर इजी कावासिमा चौथोपल्ट विश्वकप टिममा छनोट भएका हुन् । इन्ट्रयाक्ट फ्य्रांकफर्टका एट्याकर दाइची कामादा र मोनाकोका ताकुमी मिनामिनो पनि टिममा समेटिँदा घरेलु लिग खेलिरहेका ६ खेलाडीले मात्रै स्थान पाएका छन् ।

अघिल्ला दुई विश्वकप खेलेका स्ट्राइकर युया ओसाका बाहिरिएका छन् । सेल्टिकका दुई खेलाडी क्योगो फुरुहासी र रेयो हाताते पनि टिममा स्थान बनाउन असफल रहे । डिफेन्डर कोउ इताकुरा गत सेप्टेम्रमा घुँडामा चोट लागेपछि बोरुसिया मोन्चेनग्लाडबाचमा नखेले पनि टिममा परेका छन् ।

प्रशिक्षक मोरियसुले तीनपल्ट अन्तिम १६ बाट बाहिरिए पनि यसपालि पहिलोपल्ट क्वाटरफाइनलमा पुग्ने लक्ष्य रहेको बताएका छन् । उनले भने, ‘यो सजिलो लक्ष्य होइन । तर, हाम्रा सबै समर्थक हामीसँग छन् । हामी यो लक्ष्यमा पुग्नेमा म विश्वस्त छु ।’ उनले रियल सोसिडाडका फरवार्ड कुबो र ब्राइटनका विंगर मितोमाले कतारमा विपक्षीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरे ।

२१ वर्षीय कुबोलाई ९ वर्षको छँदै बार्सिलोनाको ला मासिया एकेडेमीमा बोलाइएको थियो । उनी करिअरको सुरुआतमा ‘जापानी मेसी’ को रूपमा परिचित भएका थिए । रियल मड्रिडबाट ‘लोन’मा केहीपल्ट पठाइएका उनी यो सिजनको सुरुमै स्थायी रूपमा सोसिडाडमा आबद्ध भएका हुन् । उनले जापानका लागि १९ खेल खेलिसकेका छन् । बेल्जियमको युनियन एसजीमा लोनमा एक वर्ष बिताएका मितोमा गत समरमा ब्राइटन पुगेका हुन् । चोटले तनाब दिए पनि उनी चोटमुक्त हुँदै टिममा फर्किएका हुन् ।

‘खेलाडीहरूले यो बेलासम्म के गरेका छन्, उनीहरू कस्तो अवस्थामा छन् र विश्वकपमा हाम्रा लागि के राम्रो हुन्छ भन्नेलाई मैले हेरेको छु,’ प्रशिक्षक मोरियसुले भने, ‘जसले जोड्न सक्छ, सँगै काम गर्न सक्छ, संगठित रूपमा खेल्न सक्छ, उही खेलाडीहरूलाई छनोट गरेको छु ।’

जापानले जर्मनीविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकप सुरु गर्नेछ । त्यसपछि कोस्टारिकाविरुद्ध नोभेम्बर २७ र स्पेनविरुद्ध डिसेम्बर १ मा खेल्नेछ ।

जापानी टिम

गोलकिपर : सुइची गोन्डा (सिमिजु एस–पल्स), इजी कावासिमा (स्ट्रासबर्ग/फ्रान्स), डानियल स्मिड्ट (सेन्ट–ट्रुइडेन/बेल्जियम)

डिफेन्डर : युतो नागातोमो (एफसी टोकियो), माया योसिदा (साल्के/जर्मनी), ताकेहिरो तोमियसु (आर्सनल/इंग्ल्यान्ड), हिरोकी साकाइ (उरावा रेड्स), युता नाकायामा (हडर्सफिल्ड टाउन/इंग्ल्यान्ड), सोगो तानिगुची (कावासाकी फ्रन्टेल), कोउ इताकुरा (बोरुसिया मोन्चेनग्लाडबाच/जर्मनी), मिकी यामाने (कावासाकी फ्रोन्टेल), हिरोकी इतो (स्टटगार्ट/जर्मनी)

मिडफिल्ड : वातारु इन्डो (स्टुटगार्ट/जर्मनी), हिदेमासा मोरिता (स्पोर्टिङ/पोर्चुगल), एओ तानाका (फेर्चुना डुसेलडर्फ/जर्मनी), दाइची कामदा (इन्ट्र्याक्ट फ्रयांकफर्ट/जर्मनी), जुनाया इतो (रेइम्स/फ्रान्स), काओरो मितोमा (ब्राइटन/इंग्ल्यान्ड), ताकुमी मिनामिनो (मोनाको/फ्रान्स), युकी सोमा (नागोया ग्राम्पस), गाकु सिबासाकी (लेगानेस/स्पेन), ताकेफुसा कुबो (रियल सोसिडाड/स्पेन), रित्सु डोआन (फ्रेइबर्ग/जर्मनी)

फरवार्ड : दाइजेन माएदा (सेल्टिक/स्कटल्यान्ड), ताकुमा आसानो (बोचुक/जर्मनी), आयसे उएदा (सर्कल ब्रुग/बेल्जियम)

तपाईको प्रतिक्रिया