हलोविनमा भागदौड, १५३ को मृत्यु

पूर्व संसार संवाददाता  27 पटक हेरिएको

इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्न करिब एक लाख जम्मा भएका थिएकार्तिक १४, २०७९

सोल — रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने र बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम सरकारले लगाएको थियो ।

दक्षिण कोरियाली राजधानी सोलमा शनिबार राति भएको भागदौडमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक युवती । तस्बिर : एपी

झन्डै तीन वर्ष कडा नियममा बसेको इथेवनमा नयाँ राष्ट्रपति आएसँगै कोरोना संक्रमण घट्यो । नियम पनि खुकुलो पारियो । इथेवनको रात्रिकालीन दैनिकी पुनः कोरोना काल अघिकै जस्तो हुनै लाग्दा भएको भागदौडमा च्यापिएर शनिबार राति १५३ जनाले ज्यान गुमाए ।

सप्ताहान्तको रमाइलो गर्दै हलोविन (भूत भगाउने मान्यतासहित मनाइने पर्व) का लागि एक लाखभन्दा बढीको भेला भएका थिए । अत्यधिक भीड बढेकाले साँघुरो ठाउँमा च्यापिएर धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा ५६ पुरुष र ९७ जना महिला छन् । घटनामा कम्तीमा २० जना विदेशीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा चीन र इरानका ४/४ जना, रुसका ३ तथा थाइल्यान्ड र नर्वेका १/१ जनासमेत छन् । सोलस्थित अमेरिकी दूतावासले आफ्ना दुई नागरिकको मृत्यु भएको जनाएको छ ।

इथेवन घटनाका प्रत्यक्षदर्शी नेपालीको भनाइ– ‘साँघुरो गल्लीको दुवैतर्फ धेरै नै भीड थियो’

त्यस्तै फ्रान्स, अस्ट्रेलिया, भियतनाम, उज्वेकिस्तान, कजखस्तान, अस्ट्रिया र श्रीलंकाका नागरिकले पनि ज्यान गुमाएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा ४५ जनाको घटनास्थलमै र १०८ जनाको उपचारका क्रममा मृत्यु भएको हो। अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश ३० वर्षभन्दा कम उमेरका छन्। घटनामा गम्भीर घाइते भएका ८२ जनाको उपचार भइरहेको छ ।

‘सोलमा हिल्टन होटलको छेउमा साँघुरो गल्ली छ । त्यही गल्लीको दुवैतिरको अलि फराकिलो ठाउँमा स्ट्रिट कन्सर्ट भइरहेको थियो। निकै ठूलो भीड जम्मा भएको थियो, एकाएक दुवैतिर भीड बढेर गल्लीमा रहेका मानिस च्यापिएका हुन्,’ इथेवन नजिकै रस्टुरेन्ट सञ्चालन गरेर बसेका गम्भीरमान श्रेष्ठले भने, ‘समाचार सुन्दा पनि पत्याउनै गाह्रो। पहिले–पहिले पनि भीड हुन्थ्यो। कन्सर्ट हुन्थ्यो। तर, कोरोनापछिको रात्रि जीवनमा रमाइलो गर्न पहिलेको वर्षभन्दा धेरै व्यक्ति निस्केकाले पनि यस्तो घटना भएको हुन सक्छ ।’ घटनापछि राष्ट्रपति युन सुक– योलले राष्ट्रिय शोक घोषणा गरेका छन् । कुनै पनि हलोविन कार्यक्रमहरू नगर्न उनले निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया