पहिरोमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले जनही २५ हजार दिने

पूर्व संसार संवाददाता  189 पटक हेरिएको

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ दिने भएको छ ।

असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट मृत्यु भएकाहरूका परिवारलाई तत्कालका लागि किरिया खर्चबापतको रकम उपलब्ध गराइने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार पहिरोबाट ज्यान गुमाउने प्रदेशभरका सबै मृतकका परिवारलाई किरिया खर्च बापत रकम दिइनेछ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार पहिरोमा परी कर्णालीमा ३७ जनाको मृत्यु भएको छ । अझै १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरूको उद्धार र राहत सहयोग गर्ने कार्य पनि भइरहेको मुख्यमन्त्री शाहीले बताए ।

उनले पहिरोबाट सडकमा पुगेको क्षतिको सरकारले मर्मतका लागि बजेटको व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया