
नेपालको सुदूर पूर्वी पहाडका अरुण र तमोर उपत्यका क्षेत्रमा बसोबास गर्ने आदिबासी जनजातिहरु मध्ये सघन रुपमा आवाद भएको प्रमुख जाति लिम्बू हो, यसमा कुनै दुई मत छैन । धर्म, संस्कृति तथा परम्परा हेर्दा यो जाति प्रकृतिपूजक, मातृसत्तात्मक र गणवादी देखिन्छ । यतिसम्म कि आफ्नो मौलिक परम्परा तथा संस्कृतिका कारण लिम्बूहरु अन्य किरातबंशी भन्दा केही बेग्लै महसुस गर्न सकिन्छ ।
प्रकृतिमा रहेका विविध वस्तु, पदार्थ, जीव तथा निर्जीव वस्तु समेत किरात लिम्बू समुदायबाट आस्था तथा विश्वासका प्रतिकका रुपमा पूजित र सम्मानित छन् तर ती सबै प्रकृतिमा नै उपलब्ध छन्, कुनै अलौकिक वस्तु वा निराकार छैनन् । धर्मलाई कर्तव्य र व्यवहारका रुपमा ग्रहण गर्ने सामाजिक परम्पराले गर्दा लिम्बूहरु आफ्नो समुदाय भित्र अघोरै गणवादीको रुपमा चिनिन्छन् । लिम्बू जातिको मुन्धुममा वर्णित शास्त्रीय विधिविधानमा कुनै पन्थ वा सम्प्रदायको उल्लेख वा व्याख्या गरेको पाईदैन । यद्यपि लिम्बू जातिमा अन्य जातिले थोपरी दिएका “काशीवंशी कि ल्हासावंशी ?” भन्ने अमूर्त गोत्रिय विवाद भने पाउन सकिन्छ ।
वास्तवमा यसका आफ्नै कारणहरु हुन सक्छन्– जस्तो कि किरात लिम्बूहरुको एक समूह जो पछि यसैमा विलय भयो, ती काशीवंशी हुन सक्छन् । त्यस्तै ल्हासा वा पूर्वी तिब्बतबाट यस क्षेत्रमा प्रवेश गरेका किरात लिम्बूहरुलाई ल्हासावंशी भनिएको हुन सक्छ । हालसालै आएर मुन्धुम र इतिहासमा खोजी र रुचि राख्ने किरात लिम्बूहरु बहसका रुपमा सत्यहाङ्मा पन्थ, यूमासाम्यो वा अन्य त्यस्तै विविधि पन्थ वा सम्प्रदायका नामहरु अगाडि सार्न थालेका छन् ।
सामान्यतया धर्मलाई सामाजिक दर्शनका रुपमा अंगिकार गरिन्छ, यसैले पनि समय सापेक्ष परिवर्तन, व्याख्या/विश्लेषण र व्यवहारमा नयाँ पन्थ वा सम्प्रदाय स्थापित हुने गर्दछन् । हिन्दू धर्मावलम्बीहरु शैव, वैष्णव, शाक्त त्यस्तै बौद्ध धर्मका हिनयान, महायान पन्थ र सम्प्रदायमा विभाजित छन् भने मुस्लिमहरु शिया र सुन्नी भित्र पनि कैयन् उपभेदमा विभाजित छन् । किरात धर्म भित्र पनि यस्ता पन्थ र सम्प्रदायहरु देखिनु कुनै आश्चर्यको विषय होईन । यद्यपि यो इतिहास र दर्शनको गम्भीर छलफलको विषय हो, अहिलेको उठान विषय नपरेकाले यसलाई विषयान्तर गरिन्छ ।
लिम्बू जातिले गर्ने हरेक क्रियाकलापमा समूह वा गणको निर्णय नै अन्तिम हुन्छ, जसलाई “सत्र थुम, दस लिम्बूवानको थिति” भन्ने गरिन्छ । यस अर्थमा व्यक्तिको भूमिका गौण हुन जान्छ, समूह/समुदाय प्रधान हुन्छ । एक लिम्बू परिवारले सञ्चालन गर्ने हरेक सामाजिक तथा धार्मिक क्रियाकलापहरु सम्बन्धित परिवार वा निज व्यक्तिको ईच्छामा नभई “सत्र थुम, दस लिम्बूवानको थिति” बमोजिम नै सम्पन्न हुन्छन् ।
भनाइको तात्पर्य यो हो कि समूहले वा सामूहिक रुपमा गरिने निर्णयहरु पञ्चवाक्य, जो यो समुदायको विकल्पहीन घोषणा हो; बाट अन्तिम निर्णय सुनाइन्छ, यो नै लिम्बू समुदायको प्रमुख विशिष्टता हो । यही विशिष्टताका कारण लिम्बू समुदायमा धेरै विशेषताहरुले ठाउँ पाएका छन् वा भनौ विशिष्ट सभ्यता, संस्कार, सामाजिक परम्पराहरु सिर्जित भएका छन् । धर्म र जीवनको मिश्रणबाट सभ्यता, संस्कार, परम्परा बने पछि त्यो व्यवहारमा लागु हुनासाथ त्यसले मानिसको हरेक क्रियाकलापलाई निर्देशित गर्दछ, त्यो निर्देशन सामाजिक मान्यतामा आधारित हुनै पर्दछ भन्ने हरेक लिम्बूहरु विश्वास गर्छन् । यस्ता धेरै विशेष परम्पराहरु मध्ये आज एक रोचक परम्परा बारे चर्चा गर्न लागिएको छ– लिम्बू जातिमा नयाँ थर निर्माण र परिवर्तन ।
मानव समुदायका अन्य जातिहरुमा झैं लिम्बू जातिमा पनि नयाँ थर निर्माण वा परिवर्तन विभिन्न कारणहरुबाट भएका छन् । ती विभिन्न कारणहरुबाट थर वा मिङ्स्रा परिवर्तनका कारण मूल वंशबाट छुट्टिएर नयाँ वंश बन्ने गर्दछन् । कतिपय अवस्थामा एउटा बंश लोप भई अर्को बंशमा विलिन हुने वा नयाँ बंश/थर कायम हुने गर्दछ । यस्ता परम्पराहरु लिम्बू जातिको सामाजिक परम्परा तथा जीवन पद्धतिसंग पनि सम्बन्धित छन् । लिम्बू जातिमा नयाँ वंश/थर निर्माणका प्रशस्त उदाहरणहरु छन्, यद्यपि यो संक्षिप्त लेखमा ती विविध विधिहरुलाई वर्गीकरण गरी अध्ययन गर्ने प्रयास गरिएको छ । विभिन्न लिम्बू विद्वानहरुले भिन्न भिन्न तरिका बताए पनि सामान्यतयाः लिम्बुहरुमा थर वा मिङ्स्रा निम्न लिखित ६ प्रकारबाट परिवर्तन हुने गरेको देखिन्छ ।