
बौद्ध धर्मका प्रमुख धर्मगुरु शरण्यरत्न ठुल्सिक रिन्पोछे (ङवाङ छोकी लोटो) ञिङ्मापा सम्प्रदायको ३१औं निर्माणकाय (अवतार) को रूपमा वि.सं. १९८०÷०६÷२५ गते तिब्बतको यम्डोक ल्हो ताक्लुङ भन्ने ठाउँमा जन्मिएका थिए । क्याप्जे (शरण्यरत्न) ठुल्सिक रिन्पोछेको पिता लिच्छवी वंशका तेन्जिन छोदर र माता ज्याम्याङ वाङ्मो चाङ्पा न्यारेप्पा हुन् । तिब्बती बौद्ध धर्मगुरु ओनरेपाले साधना गरेको गुफाभित्र ठुल्सिक रिन्पोछेको जन्म भएको थियो ।
क्याप्जे ठुल्सिक रिन्पोछे चार वर्षको हुँदा जाटुल रिन्पोछेको निमन्त्रणामा तिब्बतस्थित ला तो सेल्कार जिल्लाको जारोङफु भन्ने स्थानमा पुगी जाटुल रिन्पोछेलाई भेटेर पूर्वजन्मबारे भन्न थालिसकेपछि ठुल्सिक दोङालिङपाका शिष्य जाटुल रिन्पोछेले आफ्नै गुरुको अवतार हो भन्ने पहिचान गरे । ठुल्सिक रिन्पोछे चार वर्षको हुँदा नै जाटुल रिम्पोछेद्वारा उनलाई अवतारीको रूपमा लिई ङवाङ दोङग तेन्जिन पालसाङपो नामकरण गरियो । बाह्र वर्षको उमेरमा क्याप्जे ठुल्सिक रिन्पोछेलाई धर्म गद्दी आरोहण गराउनुका साथै जाटुल रिन्पोछेबाट प्रतिमोक्ष बोधिसत्व र मन्त्रसम्बन्धी विशेष शिक्षा दिइयो । त्यसपछिलगतै तिब्बतस्थित जारोङ दोङ क्ष्योलिङ गुम्बाको उपाध्याय (खेन्पो) मा नियुक्त गरियो ।
ञिङमापा सम्प्रदायको सुरुदेखिको अवतारहरूमा १, महावैरोचन २, धर्मबज्र ३, शाक्यमुनी बुद्धको पाश्र्वती आनन्द ४, धर्मराज इन्द्रभुती ५, आर्यदेव ६, महासिद्ध कृष्णचर्या ७, थोन्मिसम्भोट ८, शान्तिगर्भ ९, शान्तरक्षिता १०, महादोभाषी वैरोचना ११, ञ्याक ज्ञानकुमार १२, श्री वज्र १३, शुक्र्षेन शाक्यकार १४, टङोन इश्वर ज्वाला १५, रोङसोभ महापण्डित १६, फम्थिङ अभयकीर्ति १७, विज्ञ विजय ख्युङ्पो १८, अतिश दिपङ्कर १९, रेछुङ वज्र २०, च्यादुल वीर्य ज्वाला २१, आनन्दध्वज २२, आदर्श वज्र २३, सर्वज्ञ लोङछेन विमलप्रभा २४, महासिद्ध कर्मवज्र २५, मङ्गल मञ्जुश्री २६, श्यदेउ अभ्रान्ति आनान्द २७, ज्योनाङ आनान्द गर्भ २८, महानिधिपति अक्षर वज्र २९, गुयाङ लोदेचाल ३०, समन्तभद्र दर्शनविभुक्ति वज्र ३१, निर्माणकाय पर्दछन् ।