अर्जुनको सारथी कृष्णको साटो बुद्ध हुन्थे भने अर्जुनलाई दिइने उपदेश कस्तो हुन्थ्यो होला ?

पूर्व संसार  193 पटक हेरिएको

प्रसिद्ध भारतीय इतिहासकार रोमिला थापर भारतको जवाहरलाल नेहरू विश्वविद्यालयको सेवानिवृत्त प्राध्यापक हुन् । जेएनयूका प्राध्यापक रणवीर चक्रवर्तीले अङ्ग्रेजी पाक्षिक पत्रिका फ्रन्टलाइनका लागि उनीसँग लिएको लामो साक्षात्कारलाई नरेश ज्ञवालीले केहीअघि अनुवाद गरी रातोपाटीमा प्रकाशित गरेका थिए ।

उक्त अन्तरवार्तामा ‘अर्ली इन्डिया’ पुस्तकमा महाभारत युुद्धमाथि टिप्पणी गर्दै यदि अर्जुनको सारथी कृष्णको सट्टा बुद्ध हुन्थे भने अर्जुनलाई दिइने उपदेश त्यस्तो नभएर अरू नै केही हुन्थ्यो, होला भनी प्रो थापरले भनेकी छिन् । अन्तरवार्ताको सङ्क्षिप्त अंश :

१. प्राचीन भारतको इतिहास इन्डोलोजी (संस्कृत र हिन्दू धर्म) को माध्यमबाट पढाइने गरिन्थ्यो । एउटा कोणबाट हेर्दा प्राचीन भारतको इतिहास भनेको हिन्दू इतिहास मात्रै थियो ।

२. वास्तवमा भागवत गीता उत्तर–मौर्यकालीन टेक्स्ट हो । यति बेलासम्म बौद्ध र जैन श्रमण परम्परा स्थापित भैसकेको थियो ।

३. धर्मको अवधारणालाई परिभाषित गर्न दुईवटा धार थिए । ब्राह्मणवादी र श्रमण परम्परा । यो द्वैधता इसाको पहिलो सहस्राब्दीमा पनि कायम रह्यो । वैयाकरण पातञ्जलिले यिनको बीचको सम्बन्धलाई सर्प र नेउलासँग तुलना गरेका थिए । भत्रुको अर्थ यी दुवैको सम्बन्ध सङ्घर्षमय थियो ।

४. युद्धअघि अर्जुन द्विविधामा थिए । उनको मनमा उब्जिएको अन्तरद्वन्द्वका कारणले कृष्णलाई भागवत गीताको उपदेश दिनुपर्ने अवस्था आयो होला । अर्जुनको सारथी बनेर पनि कृष्णले युद्ध रोक्न कुनै प्रयास गरेनन्, बरु क्षत्रीय धर्मको पालन गर्नुपर्छ भन्दै युद्ध गर्नका लागि अर्जुनलाई गीताको उपदेश दिए ।

५. त्यसैले कृष्णको ठाउँमा बुद्ध भैदिएको भए बुद्धले युद्ध रोक्न हरसम्भव प्रयास गर्ने थिए । कुराकानीको विभित्र चरणले गर्दा सायद युद्ध थामिन पनि सक्थ्यो ।

६. मलाई महाभारत युद्धको आरम्भ र अन्त्य दुवैमा के कुरा रोचक लाग्छ भने दुवै ठाउँमा एउटा त्यस्तो वृत्तान्त आउँछ जहाँ युद्धको वैधतामाथि प्रश्न उठाउने गरिन्छ । हामीले यसलाई गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ । के गीताले शान्ति र अहिंसाको सन्देश दिन्छ ? अथवा यसले कुनै विशेष परिस्थितिहरूमा हिंसालाई नदेखे झैँ गर्छ ?

स्वामी आनन्द अरुणले ‘अन्तर्यात्रा’ पुस्तकमा कृष्णजीको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका छन् । गीताका श्रीकृष्ण परम विद्वान, ज्ञानवान, गम्भीर छन् भने भागवतका श्रीकृष्ण एकदमै चञ्चल, गैरगम्भीर र अति रसिक छन् । भगवत गीतामै कृष्णको अनेक व्यक्तित्व देखिन्छ । महाभारतमा श्रीकृष्ण एक सच्चा मित्र, एक परम योगी, कुशाग्र विश्लेषक, प्रखर कर्मयोगी, सर्वत्यागी परिव्राजक, ज्ञानीजस्ता अनेक गुण सम्पत्र व्यक्तित्वका रूपमा देखा पर्छन् । कहिले उनी शान्ति दूतका रूपमा देखा पर्छन् भने कहीँ युद्धका परम पक्षपातीका रूपमा । उनको व्यक्तित्व परस्परविरोधी आयामहरूले भरिएको भए पनि त्यहीबीचमा पनि एक समन्वयको सङ्गीत छ । जुन कृष्ण बाँसुरी बजाएर नाच्छन् त्यही कृष्ण सुदर्शन चक्रले संहार गर्छन् । जो कृष्ण बृजवालाहरूका दहीका घैंटा फोडी रमाउँछन्, जमुनामा स्नान गरिरहेका युवतीका वस्त्र चोरेर नग्न पारी उनीहरूलाई जिस्क्याउँछन्, त्यही कृष्ण युद्ध मैदानमा गीताजस्तो गहन, गम्भीर उद्घोष गर्छन् ।

यस्ता विरोधी स्वरहरूको समन्वय क्राइस्टमा, बुद्धमा, महावीरमा, मोहम्मदमा, राममा कसैमा भेट्न सकिँदैन । कृष्णले जति कवि, कलाकार, लेखक, योगी, ज्ञानी, भक्तलाई आकर्षित गरेका छन्, त्यति अन्य कसैले गर्न सकेका छैनन् । त्यसकारण हिन्दूहरूले श्री कृष्णबाहेक अरू कुनै अवतारलाई पूर्ण मान्दैनन् ।

कृष्णको अर्को विशेषता के हो भने ५ हजार वर्षपूर्व जन्मिएर पनि उनले भविष्योन्मुखी शिक्षण गरे । आउने दिनमा धर्मले बाँच्नु छ भने साम्प्रदायिक सङ्कीर्णताबाट मुक्त हुनैपर्छ । अब दमनवादी दर्शन धेरै दिन बाँच्दैन । दमनले विक्षिप्तता र कुरूपता मात्रै पैदा गर्छ । भारतका सबै धर्म जीवननिषेधित छन् तर कृष्णको हकमा भने यो कुरा सरासर गलत हो ।

गान्धी गीतालाई माता भनी पूज्छन् । तर युद्धभूमिका कृष्ण उनलाई स्वीकार्य छैन । सुरदास बालकृष्णको गुणगान गर्छन्, युवा तर प्रेमी कृष्ण उनलाई पच्दैन । तिलक कर्मयोगी कृष्णलाई मात्र मान्छन् । जयदेवलाई प्रेमी र रसिक कृष्ण मात्र स्वीकार्य छन् वैराग्यका प्रतीक कृष्ण उनलाई मान्य छैनन् । त्यस्तै स्वामी प्रभुपाद गीतालाई भक्तिशास्त्रका रूपमा मात्र चित्रण गर्छन्, सांख्यका कृष्ण उनलाई स्वीकार्य छैनन् । यसप्रकार कृष्णलाई समग्र रूपमा बुझ्नु सट्टा सबैले आ–आफ्नो रुझान मात्रै कृष्णमा देख्छन् ।

युद्धअघि अर्जुन द्विविधामा रहेको बखत सारथी कृष्णजीले चाहेको भए युद्ध रोकिन्थ्यो होला, कृष्णजीले गीताको उपदेश दिए तर युद्ध रोक्न कुनै प्रयास नै गरेनन् भत्रे प्रो. थापरको विश्लेषण रहेछ ।
तर, विद्वान पं. छविलाल पोखरेलको ‘जात, जाति र सम्प्रदायहरू’ पुस्तकले कृष्णजीले युद्ध रोक्न कुनै प्रयास नगरेको भत्रे प्रो. थापरको विश्लेषणलाई खण्डन गर्छ ।

तपाईको प्रतिक्रिया