
युवा उपन्यासकार भीष्मराज फुलाराको सामाजिक यथार्थवादी उपन्यास हो ‘टुहुरो कुण्डली’ । सुदूर पश्चिमाञ्चल, डोटी जिल्लाको दुर्गम तथा पिछडिएको गाउँ चुडीमा जन्मेर त्यहीँ हुर्किएका फुलाराले केही वर्षपछि आफैंले देखेका भोगेका घटना उपघटनाहरूलार्ई शब्दमा उनेर यो उपन्यास तयार पारेका हुन् ।
यस उपन्यासमा समाजमा टुहुरो भई बाँचिरहेका, आवाजविहीन भई दफनिएका, बगरमै लुटिएका, विषकुण्डमा होमिएका, सामाजिक रूपमा अपहेलित भएका, रणसमरमा ज्यान गुमाएका, विदेशी भूमिमै काम गर्दागर्दै आहूति दिएकाहरूको आवाजलाई उजागर गरिएको छ । यसैले पनि सामाजिक विषयवस्तु समेटिएको उपन्यास हो ‘टुहुरो कुण्डली’ भन्न सकिन्छ ।
सामाजिक संवेदना स्खलित हुँदै गइरहेको आजको विश्व परिवेशमा उपन्यासकार फुलाराले यस उपन्यासमार्फत करुणा, दया, माया, सद्भाव र सहानुभूतिजस्ता मानवीय संवेदनाको उठान गरेका छन् ।
यसरी आम पाठकलाई यतातिर सोच्न बाध्य पारेका छन् लेखकले । पुस्तकले दुर्गम ग्रामीण भेगको यथार्थताको चित्रित गरेको छ । सुदूरपश्चिमको पहिचान झल्कने संस्कृतिको ज्ञान र सामाजिक चालचलनको चित्र, शब्द चित्र दुरुस्त उतारेका छन् ।
शब्दमार्फत समाजको उत्कृष्ट फोटोकपी गर्न सफल छन् यस कृतिका लेखक । मानवीय पीडा भुलाउन अनेकन कथा उपकथालाई शृङ्खलाबद्ध गर्न खप्पिस लेखक जीवनका विविध आयाम, उकालीओरालीहरूलाई पुस्तकका अक्षरहरूमा यसरी प्रस्तुत गरेका छन् कि पुस्तक पढ्दै जाँदा जो कोहीको मन पनि भावविहृवल हुन्छ ।
पारिवारिक पीडा बोधलाई देश, काल र परिस्थितिको मालामा उन्दै जाँदा पुस्तकको ३९ पृष्ठमा सबै पाठकका आँखालाई रसिलो बनाउँछ । लेखकको बाल्यकालमै उनकी आमा उनलार्ई राख्ने न्यायो काख छुटाउँदै परलोक भएको घटना पुगेपछि कथा नयाँ मोडमा पुग्छ ।
उपन्यासकार फुलारा मूलपात्रको रूपमा आफैं उभिन्छन् । ‘म’ पात्रलार्ई प्रमुख बनाएर लेखक फुलाराले लेखेका यस उपन्यासमा दश वर्षको उमेरदेखिको अनुभूति समेटिएको छ ।
सम्झँदा पनि काँडाले घोचेसरह हुने र बिर्सन पनि नसकिने आफ्ना जीवनका क्षणहरू समेटिएको सो उपन्यासको सुरुआत मै भनिएको छ । जसले गर्दा वास्तविक मानवीय पीडा तथा अनुभूति नजिकबाट नियाल्न सहज हुन्छ ।
यो उपन्यास सरल भाषामा अगाडि बढेको छ । पढ्दै जाँदा अनेकन भाव मनमा प्रवाहित हुन्छ । उपन्यासकार आफैं भाव गंगामा पौडी खेल्दै मानवीय समवेदना प्रस्तुत गर्दै मन छुने पारामा जीवनलाई सोच्न बाध्य तुल्याउँछन् ।
उपन्यासकार आफू पनि दुःख पीडामा भिजेर लेखेको अनुभूति हुन्छ । आफ्नै दुःख पीडाको परिस्थितिबाट उन्मुक्ति लिँदै समाजलाई केही दिन खोज्ने चिन्तनमा लेखक रहेको प्रस्ट छ ।