
३८ औं अन्तर्राष्ट्रिय पर्यटन मेला ‘फितुर’ आइतबार सम्पन्न भएको छ ।
स्पेनको राजधानी म्याड्रिडमा पाँच दिनसम्म सञ्चालन भर्इ अन्तर्राष्ट्रिय पर्यटन मेला सम्पन्न भएको हो।
मेलामा नेपालका ११ बटा ट्राभल एजेन्ट कम्पनीहरुले भाग लिएका थिए । नेपाल टुरिजम बोर्ड र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को संयुक्त संयोजनमा ११ कम्पनीका २१ पर्यटन ब्यबसायीहरु मेलामा सहभागी बनेका हुन्।
नेपालको परिदृश्य र संस्कृतिको पहिचानका लागि मेलामा सहभागिता जनाएको नेपाल टुरिजम बोर्ड अनुसन्धान योजना तथा अनुगमन महाशाखाका निमित्त निर्देशक सुनिल शर्माले बताए।
उनले भने,’नेपालको परिदृश्य,संस्कृति हाम्रो पृथक रहनसहनको चिनारी दिनु नै सहभागिताको उदेश्य हो ।’
नेपालका छुट्टाछुट्टै ११ डेस्कहरुमा आउने आगन्तुकहरुले बिशेषगरी पदयात्रा,पर्वतारोहण चासो ब्यक्त गरेको सहभागीहरु बताएका छन् ।
नेपाल टुरिजम बोर्डका बरिष्ट अधिकृत खेमराज तिमिल्सिना,नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाटा)का फितुर संयोजक लक्ष्मण लम्साल,सहसंयोजक बिनय बस्नेत लगायत पर्यटन ब्यबसायीहरुले मेलामा सहभागिता जनाएका थिए।
म्याड्रिड ट्रेड फेयर इस्टिट्यूशनले परिचित संस्था ‘एल आईफेमा’ले ‘फितुर’ अर्थात् ईन्टरनेशनल टूरिजम फेयर हरेक वर्ष आयोजना गर्दै आएको छ ।