
अमेरिकामा केन्द्र सरकारका हजारौं कर्मचारी सोमबार काममा जान पाएनन् किनकी नयाँ बजेट सिनेटले पास गरेन ।
फेडरल फन्डिङ विस्तारको मुद्दामा सहमति नभएका कारण सरकारी कामकाज बन्द हुने प्रक्रिया शुक्रबार नै सुरु भएको थियो ।
सोमबार सुरु हुने सातालाई मध्यनजर गर्दै सम्झौता गर्ने प्रयास आइतबार राति असफल भयो । गतिरोध अन्त्य गर्ने प्रयासमा बोलाइएको बैठक सोमबार अपराहृनसम्मका लागि स्थगित गरिएको छ ।
यसको अर्थ संघीय सरकारको थुप्रै कार्यालय बन्द हुनेछन् ।
रिपब्लिकन र डेमोक्रेट सिनेटरहरुका बीचमा आरोप प्रत्यारोपको सिलसिला जारी छ र अहिलेसम्म कुनै सम्झौताको सम्भावना देखिएको छैन ।
डेमोक्रेटहरु बजेट पास गरेको बदलामा आप्रवासनको मुद्दामा राष्ट्रपति ट्रम्पसँग सम्झौता गर्न चाहन्छन् तर, रिपब्लिकन सिनेटर यसका लागि तयार छैनन् ।
यही बीचमा संघीय सरकारको कामकाज रोकिएको छ । रिपब्लिकन सिनेटर सीमा सुरक्षाको नाममा फन्डिङ चाहन्छन् । यसमा मेक्सिकोको सीमामा पर्खाल लगाउने र रक्षा बजेट बढाउने मुद्दा पनि छ ।
आइतबार राति साढे ९ बजे सिनेटको एक विशेष सेशन स्थगित गरिएको छ । सोमबारका लागि निर्धारित गरिएको भोटिङ पनि अपराहृनसम्मका लागि टरेको छ ।
सम्झौता नहुनुका अर्थ जबसम्म यो मुद्दामा सहमति हुँदैन, तबसम्म संघीय सरकारका कर्मचारी आफ्नो कार्यालयमा बेतलवी गयल हुनेछन् ।
सिनेटको नियम अनुसार कुनै पनि बिल पास गर्न १०० सदस्य रहेको सदनमा ६० भोट आवश्यक छ । हाल सिनेटमा ५१ रिपब्लिकन छन् र बजेट पास गर्नका लागि केही डेमोक्रेट सिनेटरको समर्थन चाहिन्छ ।
सन् २०१३ मा पनि यस्तै विवादले सरकारको कामकारबाही १६ दिनका लागि बन्द भएको थियो । त्यसबेला सरकारलाई २ अर्ब डलर घाटा भएको मानिन्छ ।