अमेरिकी संकट दुई हप्तालाई टर्‍यो, फण्डिङ बिल पास

पूर्व संसार  99 पटक हेरिएको

अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज फेरि शुरु हुने भएको छ । रिपब्लिकन र डेमोक्रेट्सका बीच भएको सम्झौतापछि यो संकट अस्थायी रुपमा हटेको हो ।

अमेरिकी संसदका दुबै सदनमा सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी बिलको मन्जुरी दिएको छ । यस निर्णयपछि संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरेका छन् । यसअघि कर्मचारीहरुलाई केही दिन बेतलवी विदा दिइएको थियो ।

सिनेटमा सरकारी खर्चका लागि यस अस्थायी बिलको पक्षमा ८१ जनाले मत दिएका थिए । १८ जनाको मत भने विपक्षमा परेको थियो । यद्यपि यो अस्थायी सम्झौता साढे दुई हप्ताको लागि मात्र हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक मञ्जुरीपछि ८ फेब्रुअरीसम्म संघीय सरकारको कामकाज विना वित्तीय संकट अन्त्य हुन सक्नेछ । तर ८ फेब्रुअरीपछि के हुन्छ अझै स्पष्ट भइसकेको छैन ।

यद्यपि डेमोक्रेट सिनेटरहरु यस बिलमा आफ्नो आपत्तिबाट पछि हट्नका लागि तयार भएका छन् । र, बदलामा रिपब्लिकन सिनेटरले आप्रवासिहरुको मुद्दामा उनीहरुलाई भरोसा दिलाएका छन् ।

डेमोक्रेट सिनेटर चक शुमरले भनेका छन्, यदि रिपब्लिकन सिनेटर्सले युवा आप्रवासीहरुलाई मुलुक निर्वासित हुनबाट बचाउने कार्यक्रम ल्याउँछन् भने डेमोक्रेट्स यस बिलको समर्थन गर्नेछौं ।

तपाईको प्रतिक्रिया